छोरीको बिहेका लागि बैंकमा राखेको ९ लाख रुपैयाँ हरायो, संसदमा उठ्यो प्रश्न



काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरस्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ चोरी भएको छ । छोरीको बिहेका लागि भन्दै किसान रामेश्वर यादवले जम्मा गरेको रकम बैंकबाट चोरी भएको हो ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद देवप्रसाद तिमेल्सिनाले बैंकमा राखेको रकमसमेत सुरक्षित नभए अरु के सुरक्षित हुन्छ भन्दै प्रश्न गरे ।

‘रौतहटको चन्द्रनिगाहपुरको माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ चोरी भएको छ’ सांसद तिमेल्सिनाले भने, ‘किसानले छोरीको विवाहका लागि बिन्द्रावन नगरपालिका वडा नम्बर ३ रामेश्वर यादवले १२ लाख रुपैयाँ जम्मा गरे । जम्मा भएको मेसेज मोबाइलमा आयो बिहीबार । त्यसपछि उहाँ आइतबार झिक्न जाँदा उहाँको ९ लाख रुपैयाँ छैन, त्यसमा कसले ह्याक गरेर लग्यो ?’

देशमा बैंकमा राखेको रकम समेत सुरक्षित हुन नसकेको भन्दै उनले सुरक्षा व्यवस्थामाथि प्रश्न गरे ।

‘किसानले छोरीको विवाहका लागि राखेको पैसासमेत सुरक्षित नभएपछि के सुरक्षित हुन्छ ?’ उनले भने, ‘त्यस्तो अपराधिलाई यथाशीघ्र कानुनी कठघरामा ल्याएर कारबाही गरेर तत्काल उहाँको छोरीको बिहेका लागि बैंकले उपलब्ध गराउन माग गर्छु ।’


क्लिकमान्डु