‘पर्यटन विकासका लागि भारत र चीनका सहरमा हवाई उडान आवश्यक’



default

काठमाडौं । नेपालको पर्यटन विकासका लागि छिमेकी मुलुक भारत र चीनका प्रमुख सहरमा हवाई उडान सुरु गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

बुढानीलकण्ठ-१० कपन, निलोपुलमा गत वर्ष गठित बहस मण्डपले नेपालको पर्यटन विकासका विषयमा आयोजना गरेको छलफलमा सहभागी कूटनीतिज्ञ, पर्यटनका ज्ञाता तथा अर्थशास्त्रीले भारतीय पर्यटकको संख्या बढाउन त्यहाँका प्रमुख सहरमा पर्यटन केन्द्र स्थापना गर्दै विभिन्न ‘टुर प्याकेज’ सञ्चालन गर्नुपर्ने बताए ।

सम्बद्ध सरकारी निकाय र पर्यटन व्यवसायीबाट गुणस्तरीय पर्यटन सेवा उपलब्ध गराउनुपर्ने, देशभित्र पर्यटकीयस्थलको विकास र सहर व्यवस्थापन, धार्मिक, सांस्कृतिक, पर्वतारोहण, पदयात्रा, चलचित्र निर्माण, जलयात्रा, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, हाइअल्टिच्युड स्की आदि विधागत पर्यटनको व्यावसायिक विकास हुनुपर्नेमा उनीहरुको जोड छ ।

सरकारले पर्यटकीय पूर्वाधार निर्माण, ठाउँ–ठाउँमा शौचालय, खानेपानी आदिको न्यूनतम सुविधाका साथै अनुगमनको पनि व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।  कार्यक्रमको सहजीकरण डेनमार्कका लागि पूर्वराजदूत तथा पत्रकार युवनाथ लम्सालले गरेका थिए ।

बहसमा अर्थशास्त्री डा. जयप्रसाद लम्साल तथा पदयात्री एवं लेखक विष्णुप्रसाद शर्मा पराजुलीले नेपालले पर्यटन क्षेत्रको विकास गरी सकेको फाइदा लिन धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा पूर्वप्रशासक, विद्युतकर्मी एवं वित्तीय क्षेत्रका विज्ञको सहभागिता थियो । बहस मण्डपको आगामी हप्ताको बहस सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा केन्द्रित हुने संयोजक डा. लम्सालले जानकारी दिए ।


क्लिकमान्डु