प्रधानमन्त्रीलाई सांसदको प्रश्न: नक्कली भुटानी शरणार्थी प्रकरणमा भीभीआईपी विरुद्ध प्रमाण भेटिए के गर्नुहुन्छ ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने दाबी गरेका छन् । उनले प्रहरी प्रशासनलाई अनुसन्धानमा कुनै पनि हस्तक्षेप हुन नदिने बताए ।

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सोधेको प्रश्नको जवाफमा नक्कली शरणार्थी प्रकरणलाई सरकारले संवेदनशील रूपमा लिएको बताए । उक्त प्रकरणमा ‘भीभीआईपी विरुद्ध प्रमाण भेटिए के गर्नुहुन्छ ? कारबाहीको दायरामा ल्याउनुहुन्छ कि हुन्न ?’ भन्दै सांसद कुँवरले गरेका थिए ।

‘भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानुन अनुसार अनुसन्धान र कारबाही हुने व्यहोरा प्रष्ट गर्न चाहन्छु । दोषी कोही पनि उम्किन नपाओस्, निर्दोष कोही पनि नउम्कियोस् भन्ने हाम्रो जोड रहेको छ,’ प्रधानमन्त्रीले भने, ‘जुनसुकै तह र तप्काका भएपनि यो अपराधमा संलग्न जोकोही पनि कानुनको दायरामा आउने नै छन् । त्यो प्रक्रिया अगाडि बढिरहेको पनि छ । भीआईपी/भीभीआईपीहरू पनि परिरहेका त छन् । यसमा स्वतन्त्र र निष्पक्ष छानबिन भइरहेको कुरा त्यसले पनि प्रमाणित गर्दछ ।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारले कुनै पनि कसर बाँकी नराखेको उनले बताए ।


क्लिकमान्डु