भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीसँग बिहीबार भएको भेटमा उनले भ्रष्टाचारको जालो भताभुंग पार्न आफू निरन्तर लागिपरेको र यसमा नेपाली ‘डायस्पोरा’को पनि साथ चाहिएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गरे । भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने दृढता उनले व्यक्त गरे ।

‘प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन,’ उनले भने, ‘अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नपरुन् भन्नेमा सरकार सचेत रहेको बताए । छानबिनलाई निष्कर्षमा पुर्‍याउन आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दह्रो साथ रहेको श्रेष्ठको भनाइ छ ।

समितिले पनि भ्रष्टाचारविरोधी सरकारको कदमलाई विश्वभर रहेका नेपालीको साथ र समर्थन रहेको जनाएको छ । प्रवास समितिले ठगी, मानव तस्करी, सरकारी कागजात किर्ते र राज्यविरुद्धको अपराध गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।


क्लिकमान्डु