क्यान्टोन्मेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी क्यान्टोन्मेन्टमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । यदी अनियमितता भएको भए आफू जेल जान तयार रहेको उनको भनाइ छ । यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको बताउँदै प्रधानमन्त्री दाहालले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न आफू तयार रहेको बताए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचारबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु ।’

पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको प्रधानमन्त्रीको भनाइ छ ।
‘क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ । त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो,’ प्रधानमन्त्री दाहालले भने, ‘यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटक-पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ । त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ ।’


क्लिकमान्डु