शरणार्थी प्रकरणमा कांग्रेस नेताहरुको नाम जोडिँदा पार्टीको गरिमामा आँच पुग्यो: कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिँदा पार्टीको गरिमामा आँच आएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो प्रकरण अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताए । कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने उनको भनाइ थियो । नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको उनको भनाइ थियो ।

नेता कोइरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताए । मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो ।


क्लिकमान्डु