अदालतको फैसला स्वीकार गर्नुको विकल्प छैन, रत्तिभर विचलित छैन: रेशम चौधरी



काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको जन्मकैदको फैसलालाई निरन्तरता दिएपछि बुधबार विज्ञप्ति जारी गर्दै चौधरीले अदालतले गरेको फैसलामा आफूलाई न्यायिक नभए पनि स्विकार्नुको विकल्प नरहेको जनाएका हुन् ।

‘जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रा लागि खुला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्छ,’ उनले भनेका छन् ।

उनले आफूलाई सर्वोच्च न्यायालयप्रति भरोसा रहेको बताउँदै विचलित नभएको जनाएका छन् ।

‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायिक पर्वाहमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको हुँ । म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर म विचलित छैन। पुस्तक लेखिरहेको छु । केही दिनमा धरातल नामक पुस्तकका साथ तपाईं समझ साक्षात् हुनेछु भन्दै बिदा चाहन्छु,’ चौधरीले भनेका छन् ।


क्लिकमान्डु