एमाले अलोकतान्त्रिक बन्यो, कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा: माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको आरोप लगाएका छन् ।

बुधवार मदन-आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उनले एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिए । एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले एमालेले जबजबाट विचलित भएको भन्दै पार्टीको यस्ता विचार र नेताहरु बिरुद्धमा जुध्न एमालेका नेताहरुले आवाज उठाउनुपर्ने बताए ।

‘अहिले पनि जबजको औचित्य समाप्त भएको छैन । अहिले पनि हेर्ने हो भने पार्टीहरुभित्र अलोकतान्त्रिक चरित्रहरु विद्यमान छन् । त्यसो भएकाले पार्टीहरुको लोकतान्त्रिककरण गर्नुपर्ने आवश्यक्ता अझै छ । त्यसको जीवन्त उदाहरण नेकपा एमाले छ । नेकपा एमालेभित्र रहेको अलोकतान्त्रिक, नीति भन्दा नेता प्रधान, नेता भन्दा नीति प्रधान हुनुपर्ने भन्दा नीति भन्दा नेता प्रधान भन्ने मान्यतामा छ । एउटा व्यक्तिको आदेश सबैले पालना गर्नुपर्ने मान्यता बोकेको त्यो पार्टी जनताको बहुदलीय जनवादबाट विचलित भइसकेको छ’ उनले भने, ‘मदन भण्डारीको विचारबाट विचलित भएको छ । यही मञ्चबाट आह्वान गर्छु, नेकपा एमालेका तमाम कार्यकर्ता, नेताहरुलाई आफू आफ्नो पार्टी भित्र रहेका गलत विचार र प्रवृत्तिहरुको पहिचान गर्नुहोस्, त्यसका बिरुद्धमा जुध्न आँट गर्नुहोस् । पार्टीलाई लोकतान्त्रिक बनाउनुहोस्, तब नै मदन भण्डारीलाई सम्झिएको सार्थक हुन्छ ।’

अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए । नेपालमा कांग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको उनले बताए ।

सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको अध्यक्ष नेपालको भनाइ छ ।

‘नेपाल भ्रष्टाचरमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के काँग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिष्पर्धा भइरहेको छ । त्यहाँ कुनै दर्शनले काम गरिरहेको छैन, एउटै दर्शन छ पैसा कमाउँ, जनतालाई लुट, एउटै प्रवृत्ति व्याप्त छ, त्यसैले नेपालको राजनीतिलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने ? यो ठूलो चुनौति हाम्रो सामु विद्यमान छ, कम्युनिष्ट पार्टीभित्र दिक्क लाग्दो अवस्था मबाट शुरु हुन्छ, व्यक्तिवादी प्रवृत्तिबाट । यस्तोमा वैचारिक शुद्धीकरण अभियान चलाउनुपर्छ’ उनले भने ।


क्लिकमान्डु