वित्तीय स्थायित्वमा रेमिट्यान्सको भूमिका ठूलो: डेपुटी गभर्नर मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर बमबहादुर मिश्रले घट्दो विप्रेषण र बाहिर जाने मुद्राको सन्तुलन कायम गर्न राष्ट्र बैंकले केही समय केही वस्तु आयातमा रोक लगाएको बताएका छन् ।

बैंकिङ समाचारले आयोजना गरेको नेसनल बैंकिङ डिस्कोर्स २०२३ मा उनले नेपालको कुल आयातको अधिकांश हिस्सा रेमिट्यान्सले धान्ने गरेको बताए ।

विदेशमा गएका नेपाली तत्काल ल्याउन नसकिने र ल्याएर पनि देशमा रोजगारी दिन सक्ने अवस्था नरहेको उनले बताए । वित्तीय स्थायित्वका लागि रेमिट्यान्सको महत्त्व निकै रहेको बताए ।

‘वैदेशिक रोजगारीमा जाने मानिस कति शिक्षित छन्, त्यसको आधारमा वैदेशिक रोजगार बचतपत्र बिक्ने गरेको छ,’ उनले भने, ‘विदेशमा जानेहरुमा वित्तीय साक्षरता कम छ ।’

अब वैदेशिक रोजगारीमा जानेलाई कम्तीमा १ साताका लागि साक्षरता कक्षाको व्यवस्था गर्न उनले आग्रह गरे । ‘विप्रेषण डिजिटाइज गर्न सके भारतबाट पनि वैधानिक रुपमा विप्रेषण आउन स्थिति छ,’ मिश्रले भने, ‘त्यसका लागि काम गर्न आवश्यक छ ।’

कार्यक्रममा नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले विप्रेषण बढ्दा त्यसको प्रभाव चौतर्फी रुपमा हुने बताए । ‘बैंकको निक्षेपको स्रोत नै विप्रेषण बनेको छ,’ उनले भने, ‘तर, विप्रेषणबाट आउने पैसा उत्पादनमूलक क्षेत्रमा जान सकेको छैन, पुँजी निर्माण हुन सकेको छैन ।’

वैदेशिक रोजगारीमा जानेले मिटरब्याजीसँग ऋण लिने गरेको उनको भनाइ छ । ज्ञवालीले डिजिटल विप्रेषण भित्र्याउन ब‌ैँकहरु सक्षम रहेको बताए । आगामी वर्षको बजेटमा विप्रेषण भित्र्याएर गरेको उद्यममा ५-७ वर्ष विभिन्न कर छुट पाउने व्यवस्था गर्न उनले सरकारलाई सुझाव दिए ।

नेपाल रेमिट्यान्स एसोसिएसनका अध्यक्ष चन्द्र टन्डनले २५ वर्षको इतिहासमा पहिलो पटक यो वर्ष राष्ट्र बैंकले के-के समस्या छन् भनेर सोधेको बताए । यो अवधिमा राष्ट्र बैंकले कानुनी सुधारका लागि पनि छलफल गरको उनले जानकारी दिए । नेपाली कामदारको लागत घटाउन सके विप्रेषण बढ्ने उनको भनाइ छ ।

‘विप्रेषण बढेको भए पनि अपेक्षित होइन,’ उनले भने, ‘नेपाली श्रमिकलाई सुनको भरिया बनाइएको छ र त्यो रकम हुन्डीमार्फत बाहिरिएको छ । विप्रेषण बढाउन सुनको तस्करी रोक्नुपर्छ, अनौपचारिक क्षेत्रमा हुने व्यापार र नि:शुल्क भिसा, टिकट कार्यान्वयन हुनुपर्छ ।’

कार्यक्रम वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले वैदेशिक रोजगारीबाट आएको विप्रेषण उत्पादनमूलक क्षेत्रमा कति लगानी भएको छ त्यो हेर्नुपर्ने बताए । ‘विदेशबाट फर्किंदा २ लाखको आईफोन ल्याउने र टिकटक बनाउने हो भने त्यसको के अर्थ छैन ?’ उनले प्रश्न गरे ।


क्लिकमान्डु