रेशम चौधरीलाई जेल पठाउने उच्च अदालतको फैसला सर्वोच्चद्वारा सदर



काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो ।

इजलासले अभियोग दाबीबाट सफाइ पाउन प्रतिवादीहरूले दिएको पुनरावेदनमा जिकिर नपुग्ने उल्लेख गरेको छ ।

कैलालीको टिकापुरमा २०७२ भदौमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् ।

उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । अदालतको फैसलापछि पूर्वसांसद समेत रहेका चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।

उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।


क्लिकमान्डु