मौद्रिक नीतिको समीक्षाले होटल संघ उत्साहित



काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले होटल संघ नेपाल (हान) उत्साहित देखिएको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने हेतुले २०८० असार मसान्तसम्म पुन:संरचना र पुन: तालिकीकरण गर्न पाउने भएपछि हान उत्साहित भएको हो ।

संघको काठमाडौंमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीति र निर्देशन सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट हुबहु कार्यान्वयन हुन पनि माग गरेको छ ।

मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधान स्पष्ट र सरल ढंगमा छिटोभन्दा छिटो लागू गर्न कार्यविधि र निर्देशिका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्न हानले भनेको छ ।

यसअघि भएका यस्तै समीक्षामा घोषित नीति तथा निर्देशन लागू गर्न कार्यविधि र निर्देशिका जारी गर्न ढिलाइ हुँदा लाभ लिन नसकेकोतर्फ पनि हानले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै हानले कोभिडपछि क्रमशः उत्थान हुँदै आएको होटल तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याउन आवश्यक रहेको बताएको छ ।


क्लिकमान्डु