खाणले निर्दोष छु, त्यो प्रमाणित गर्छु भनिरहनुभएको छ: कांग्रेस प्रवक्ता



काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै प्रवक्ता महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि कांग्रेस पार्टीले सहयोग गर्ने बताएका छन् ।

उनले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु नहुने बताए । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उनको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको महतले बताए ।

प्रवक्ता महतले एमाले सचिव टोपबहादुर रायमाझी र खाणको केस फरक रहेको भन्दै एउटैमा जोड्न नमिल्ने धारणा राखे । अनुसन्धान चलिरहेको उल्लेख गर्दै उनले अनुसन्धानले निकालेको निस्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताए ।

‘हाम्रो दृष्टिकोण यसमा के हो भने यो अनुसन्धान प्रक्रिया अगाडी बढोस् । यसमा पार्टीको पुरा सहयोग हुन्छ । निष्पक्ष हुनुपर्‍यो यो अनुसन्धान । स्वतन्त्र हुनुपर्‍यो । निर्दोष पनि दोषी हुने अवस्था आउनु भएन । र दोषी निर्दोष हुने अवस्था पनि आउनु भएन । त्यसकारण स्वतन्त्र, निष्पक्ष अनुसन्धानको पक्षमा हामी छौँ । त्यसमा पुरापुरा सहयोग हामी गर्छौं । र उहाँले म यसमा निर्दोष छु, त्यो प्रमाणित गर्छु भनिरहनुभएको छ । त्यसो हुनाले यो विषयमा हामीले निर्णयमा नपुगेको अवस्था हो । र रायमाझीको केस फरक छ । त्यसमा एउटैमा जोड्ने अवस्था पनि म देख्दिनँ । तर अनुसन्धानले जे निस्कर्ष निकाल्छ, त्यो अनुसार पार्टीले आफ्नो दृष्टिकोण बनाउँछ । हामीले भन्दै आएका छौँ स्वतन्त्र, निष्पक्ष अनुसन्धान होस्’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । देउवा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उनले आग्रह गरे ।

पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहहेको उनको भनाइ छ ।


क्लिकमान्डु