आरजुले संसदमा भनिन्: मेरो चरित्र हत्या गरियो, ‘दिस इज अ रेप अफ माइ क्यारेक्टर’



काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताएकी हुन् । सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भए पनि हालसम्म छानबिन नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।

महिलाहरुलाई राजनीतिमा आउँदा अनेकौँ कुरा व्यहोर्नुपर्ने उल्लेख गर्दै यस्तो व्यवहार अन्य महिलाहरुप्रति नगर्न उनको आग्रह थियो । सांसद राणाले भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्न माग गरिन् ।

आरजुले संसदमा के भनिन्?

आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनुभएकै होला । म फिजिकल फर्ममा यहाँ छु । र म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्यूज र फेक मिडियाको एउटा पराकाष्ठ पुगिसकेको रहेछ । म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर यो देख्दाचाहीँ मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्‍यो ।

मैले छ दिन अगाडि फेक अडियो मेरो नाम लिएर बनाइएको भूटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएको थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरुले विश्वास गर्नुहुन्न होला । सत्ता पक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । ३ घण्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको जवाफ म गृह मन्त्रालयबाट चाहन्छु ।

अलमल किन थियो दर्ता गर्न ? ६ दिन हुँदापनि यो फेक हो कि होइन ? भनेर किन बताउन सकेको छैन ? अरुजस्तै म त झनै आतुर छु, फेक अडियो मेरो मात्रै बनेको होइन । अरु अरुको पनि बनेको छ । तर नाम मेरो मात्रै उच्चारण किन हुन्छ ? म साच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्ट असानीसेसन होइन । दिस इज अ रेप अफ माइ क्यारेक्टर । र म यो एकदम कडाइका साथ भन्छु महिलालाई राजनीतिमा आउँदाखेरी सबैकुरा हामीले व्यहोर्न सक्नुपर्छ । म व्यहोरिरहेको छु । तर यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् यो देशमा । यो भन्दा अगाडीपनि धेरै महिलालाई आत्महत्या गर्न फोर्स गरेको छ मिडियाले । सरकारले यो टेपको सत्यतथ्य उजागर गरोस् । र अरु जसको नाम आएको छ को दोषि हो ? को होइन प्रष्टकासाथ आउनुपर्छ ।


क्लिकमान्डु