तीन दलका शीर्ष नेताको बैठक शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको रास्वपाको आशंका



फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिलाउने प्रयास गरिरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरु निरन्तर छलफलमा बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निष्कर्ष रास्वपाले निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने बताए ।

संसद प्रभावकारी बनाउनुपर्ने उनले बताए । भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुशी हुने अवस्था नरहेको भन्दै सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको उनले बताए ।

नक्कली भूटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लापिरेको उनको भनाइ छ । बैठकमा पछिल्लो समय शीर्ष तीन दलका नेताहरुको बैठक बसिरहेको र त्यसले संसदलाई बन्दी बनाउने अशंका उब्जाएको उनले बताए । बैठक बस्न मिल्ने तर संसदीय गतिविधिहरु संसदबाट नै हुनुपर्ने अडान रास्वपाको रहेको उनको भनाइ छ ।

‘सभापतिले राख्नुभएको कुरा, उहाँहरु बस्न पाउनुहुन्छ, सत्ता पक्ष, प्रतिपक्ष, के कसरी लैजाने भन्ने कुराका लागि तर तीन दलका शीर्ष नेताहरु बसेर संसदलाई बन्दी बनाउन पाइँदैन । संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्छ । तर तीन दल कुनै न कुनै हिसावले भूटानी शरणार्थी प्रकरणमा जोडिएका छन्, बाहिर आएको कुरा छ, त्यो घटना मिलाउनका लागि तीन दल बस्नु भएन, हामी उहाँहरुसँग चारौँ दल भएर राजनीतिक लेनदेन गर्नेछैनौँ । भ्रष्टाचारका मुद्दालाई मिलेमतोमा कमजोर बनाउन पाइँदैन’ उनले भने ।


क्लिकमान्डु