टोपबहादुरजी हिजो प्रहरीमा हाजिर हुने कुरा थियो तर हुनुभएन: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पार्टीका सांसद टोपबहादुर रायमाझी बुधबार प्रहरीसमक्ष हाजिर हुने भनिए पनि उनी नआएको बताएका छन् ।

बिहीबारदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले रायमाझीनिकटले आफूलाई फोन गरेको बताए । फोन गर्नेले आफूलाई के गर्ने भनेर सोधेको उनले बताए ।

‘मलाई उहाँनिकटका मानिसले फोन गरेका थिए- के गर्ने भनेर,’ ओलीले भने,‘मैले प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ । उहाँ हिजो प्रहरीकोमा आउने कुरा सरकारी स्रोतबाट पनि सुनेको थिएँ तर उहाँ आउनु भएन ।’

आरोप लाग्दैमा कोही दोषी नहुने भन्दै ओलीले पक्राउ पुर्जी नै जारी भइसकेपछि कानुनी प्रक्रियालाई सहयोग गर्नु पर्ने बताए । एमाले भ्रष्टाचारबिरोधी पार्टी भएकाले कानुनी प्रक्रियालाई सघाउन रायमाझीलाई निर्देशन दिइएको ओलीको भनाइ थियो ।


क्लिकमान्डु