फरार रहेका टोपबहादुर रायमाझीलाई एमालेको कारबाही, सचिवबाट निलम्बन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएर फरार रहेका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

पार्टी महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै उक्त प्रकरणबारेको अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी दिए ।

‘राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ’ पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ’एमालेले विधिको शासनमा विश्वास गर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो । उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो । तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिँजो बसेको केन्द्रीय सचिवालयको बैठकले गंभीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।’


क्लिकमान्डु