एमालेको प्रश्न: धुलो लागेर बसेको नागरिकता विधेयक झिकेर टक्टक्याउँदै राष्ट्रपतिले जारी गर्न मिल्छ?



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद घुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सांसद पन्तले संघीय संसदमा छलफल गरेर पारित गर्नुपर्ने विषयलाई राष्ट्रपतिले छलफल गरिरहनु संविधानको स्पिरिट अनुसार पनि नमिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधानको संरक्षकको रुपमा रहेको राष्ट्रपतिले आफ्नो कार्यालयमा थन्किएर बसेको सो विधेयकलाई छलफल गर्न नमिल्ने तर्कसमेत गरे । सो विधेयक तत्काल संसदमा पेस गर्न उनले सरकारसँग माग गरे ।

धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपति झिकेर जारी गर्न नमिल्ने उनको भनाइ थियो ।

‘धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपति झिकेर यो जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानको स्पिरिटले दिन्छ ? संविधानको संरक्षकले गर्ने काम हो यो ?’ उनले भने, ‘म राष्ट्रपतिज्यूलाई विनम्रतापूर्वक आग्रह गर्दछु–यो प्रतिनिधिसभाको, राष्ट्रियसभाको अधिकार उहाँबाट नखोसियोस् । यो विधेयक यहाँ आउनु पर्‍यो । विधेयक जारी गर्ने, त्यसलाई छलफल गर्ने, त्यसलाई कानुन बनाउन प्रारम्भिक काम गर्ने दायित्व हाम्रो हो । यो अधिकारको सुरक्षा होस् ।’


क्लिकमान्डु