रास्वपा सांसद विनिता कठायतको प्रश्न- कहिले सुन्छ सरकारले कर्णालीको रोदन ?



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले सरकारले कहिले सुन्छ कर्णालीको रोदन भनेर प्रश्न गरेकी छन् ।

बैठकको शून्य समयमा उनले जुम्लाको सिन्जा उपत्यका सबै हिसाबले धनी भए पनि राज्यको नजर नपुग्दा पिछडिएको बताइन् ।

‘सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा  खस राज्यको उत्पत्ति र नेपाली भाषाको उद्गमस्थलसमेतका दृष्टिले उत्तिकै महत्त्व राख्ने क्षेत्र हो,’ उनले भनिन्, ‘धार्मिक तथा ऐतिहासिक पर्यटनका लागि आकर्षक गन्तव्य, भौगोलिक विविधतायुक्त मेरो प्रदेश प्रशस्त सम्भावना बोकेको छ तर किन पछाडि ?’

उच्च मूल्य प्राप्त हुने कृषि तथा जडिबुटीजन्य वस्तुको उत्पादनको केन्द्रको रुपमा परिचित र जलविद्युतका लागि अधिक सम्भावना भएको कर्णाली प्रदेश खनिज पदार्थहरुको भण्डार भए पनि सरकारले बेवास्ता गरेको उनले बताइन् ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य सिन्जा पर्यटकको पर्खाइमा रहेको उनको भनाइ छ ।

‘जनशक्ति, सिँचाइ सुविधा, आधुनिक प्रविधि र भौगोलिक विकटताका कारण उत्पादित वस्तुको बजारसम्म ढुवानी गर्न उपयुक्त भौतिक पूर्वाधार र व्यापार पूर्वाधारको विकासमा कमीले गर्दा सिन्जा उपत्यका आज पनि पछाडि परिरहेको छ,’ सांसद कठायतले भनिन्, ‘तर यसमा कसैको ध्यान पुगेको छैन ।’

संसद बैठकमा उनले एकोहोरो प्रश्न गरिन्-

सरकारले कहिले हो यो उपत्यकाको भौतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य स्तरमा ध्यान दिने ?

हामी कर्णालीबासीले परिवर्तनका लागि फेरि क्रान्ति गर्नुपर्ने हो ?

कहिले सुन्छ सरकारले कर्णालीको रोदन ?

सिन्जा साम्राज्यभित्रको इतिहास बचाउन सरकारले के गरिरहेको छ ?

हाम्रो योगदानले पनि सजिएको र व्यवस्था परिवर्तन भएको नेपालमा हामी कर्णालीबासीले कहिल्यै परिवर्तनको आभास गर्न नपाउने हो ?


क्लिकमान्डु