नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्डले ओलीलाई भने- बोल्ड रुपमा अगाडि बढ्छु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न देखिएकामाथि बोल्ड रुपमा अनुसन्धान अगाडि बढ्ने बताएका छन् ।

सिंहदरबारमा शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारसँग प्रधानमन्त्री दाहालले अनुसन्धान नरोकिने र बोल्ड रुपमा अगाडि बढ्ने बताएका हुन् ।

यो प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओली तनावमा छन् । उनले प्रधानमन्त्रीलाई यसबीचमा २ पटक भेटिसकेका छन् ।

‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ,’ भेटपछि प्रचण्डले भने, ‘प्रक्रिया रोकिँदैन, प्रचलित ऐनअनुसार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन् र निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रुपमा अगाडि जान्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

रायमाझीका छोरा सन्दीपसहित तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।


क्लिकमान्डु