सरकारमा नजाने र समर्थन फिर्ता लिने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसुन्धरास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकपछि आयोजित पत्रकारसम्मेलनमा सभापति रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए ।

सरकारको कार्यशैली र गति हेरेर सरकारमा जान नसकिने निर्णयमा पुगेको उनले बताए ।

सुरुमा एमालेको समर्थनमा बनेको प्रचण्ड सरकारमा रास्वपा गृह, शिक्षा, श्रम तथा रोजगार र स्वास्थ्य राज्यमन्त्री लिएर सरकारमा गएको थियो ।

तर नागरिकता मुद्दामा लामिछानेको विपक्षमा फैसला भएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो भने समर्थन फिर्ता लिएको थिएन ।

वैशाख १० को उपनिर्वाचन पछि सरकारमा सहभागी हुने बारे गठबन्धन दलहरुसँग रास्वपाले सरकारमा सहभागीताका विषयमा छलफलसमेत गरेको थियो । प्रधानमन्त्री पुरानै मन्त्रालय दिएर भए पनि रास्वपालाई सरकारमा ल्याउन सकारात्मक थिए तर रास्वपाले भने प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।


क्लिकमान्डु