लडाकुलाई २ लाख दिँदा देश बर्बाद हुन्छ भन्नेगरि कोकोहोला मच्चाउनु उनीहरुप्रतिको अपमान: पौडेल



काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरुलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्ने बताएका छन् ।

यो निर्णय यस अघिकै सरकारले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको उनले बताए ।

आयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने उनले बताए । वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरुको योगदान रहेको भन्दै उनले योगदानको सम्मान हुनुपर्ने बताए ।

सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरुलाई रकम दिदाँ देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरुको अपमान भएको बताए ।

‘एक अर्ब रुपैयाँ लाग्ला । एक अर्ब कुनै ठूलो रकम होइन । त्यो एक अर्ब रकम देश र जनताको पक्षमा हिजो हिँडेकाहरु जसको टाउकोमा अहिलेपनि गोलि छ । जसको छातिका दुईवटा करङ भाँचिएका छन् । त्यस प्रकारका व्यक्तित्वहरुलाई राज्यले सम्झिदाखेरी भयानक देश चाहीँ कंगाल बन्छ, भयानक ठूलो धनराशी खर्च भएर बर्बाद भयो भन्नेगरी कोकोहोलो गर्न खोजिदैछ त्यो भनेको अपमान हो’ उनले भने ।

उनले लडाकुहरुलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताए ।

सचिव पौडेलले देशको परिवर्तनको निम्ति सर्मपित भएका युवाहरुलाई राज्यले सम्झिदा बिरोध गर्नेहरुको विवेक हराएको टिप्पणी गरे ।

लडाकुको योगदानलाई पैसासँग तुलना गरिनु उनीहरु प्रतिको अपमान भएको पौडेलको भनाइ छ ।

‘के हाम्रो समाजमा विवेक हराएको हो र ? उहाँहरुले जिवनलाई निकै कष्टसाध्य अवस्थामा देश र जनताको परिवर्तनको निम्ति समर्पित भएर आफूलाई होम्नुभएको थियो । ति युवालाई आज बिरोध गर्ने युवाले आफ्नो साथी सम्झेर ति युवाले गरेको दुःख, कष्टप्रति अहिले प्राप्त भएको परिवर्तनको उपयोग गर्ने प्रसंगमा राज्यले सम्झिदाखेरी किन बिरोध गर्नुभएको होला ? त्यसकारण विवेक छैन समाजमा ? पैसासित तुलना गर्ने कुरा अझ उहाँहरुप्रतिको अपमान हो । राज्यले देश र जनताको पक्षमा, परिवर्तनको पक्षमा उभिएका व्यक्तिहरुलाई सम्झिँदा अपमान गर्ने झन् ?’ उनले भने ।


क्लिकमान्डु