सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्नु भ्रम होः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् ।

प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा दाहालले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी भइरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, ‘रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।’

रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको जनाउँदै प्रधानमन्त्रीले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको स्पष्ट पारे । सत्तासाझेदार दलबीच सल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए ।

तर, रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भने, ‘रास्वपका सभापति रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।’

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने जिकिर गरे । उनले भने, ‘सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ कि भन्नु भ्रम हो ।’ आफ्नै निवास शिवनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए ।

त्यस क्रममा उनले महावीर पुन आफूसँग सल्लाहा गरेपछि नै माइतीघर मण्डलामा बसेको बताए । ‘माइतिघरमा बस्नुअघि उनले बालुवाटारमा मलाई भेट्नुभएको थियो, उहाँले उठाएका मागप्रति सरकार सकारात्मक छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

‘भेटमा मैले बजेटमा तपाईंको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनेँ,’ दाहालले भने, ‘हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसीहाँसी । बस्नोस् त भन्न मिल्दैन तर बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेर मैले भनेको थिएँ ।’

पूर्वलडाकुलाई रकम दिने विषय २०७१ को सरकारले गरेको निर्णय भएको नहाँले बताए । तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी गराए ।


क्लिकमान्डु