मूल्य नपाउँदा नेपाली चिया किसान मर्कामा निर्यात बढे पनि कारोबारमा कमी
काठमाडौं । पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको छैन ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७७र७८ मा ११ हजार नौ सय २० मेट्रिकटन चिया निर्यात भई ३ अर्ब ७९ करोड ७१ लाख कारोवार भएकामा आव २०७८र७९ मा निर्यात वृद्धि भई १२ हजार चार सय ९४ मेट्रिकटन पुगेको छ। कारोबार भने घटेर ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ पुगेको हो ।
बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईका अनुसार भारतलगायत अन्य मुलुकमा चिया पाँच सय ७४ मेट्रिकटन निर्यात वृद्धि हुँदा ३६ करोड २८ लाख रुपैयाँले कारोबारमा कमी हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७औँ ‘राष्ट्रिय चिया दिवस’ का सन्दर्भमा यही वैशाख १४ देखि आजसम्म चिया प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसका क्रममा नेपाली अर्थोडक्स चियामा ‘ट्रेसाविलिटी प्रणाली’ लागू गरिएको छ ।
उक्त प्रणालीबाट चिया उत्पादक कम्पनीको उत्पादनलाई बिक्री वितरण गर्दा सूचना अनिवार्य बारकोटमा राख्नुपर्ने व्यवस्था गरिएको छ । उपभोक्ताले चियाका बारे आवश्यक सूचना बारकोटबाट प्राप्त गर्ने हुँदा गुणस्तर र तौलमा ठगी हुन पाउँदैन । चियाको उत्पादनमा वृद्धि तथा निर्यात प्रवद्र्धन गर्नसकेमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा बलियो योगदान गर्न सक्नेछ । अन्तर्राष्ट्रिय बजारमा हुने चिया निर्यातले बढ्दो व्यपार घाटा न्यूनीकरण गरी कृषकको आर्थिक रुपान्तरणमा सहयोग पुग्नेछ ।
दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसायी, बिक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तिको सहभागितामा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवसमेत गरिएको छ । महोत्सवमा विभिन्न प्रकारका चिया प्रदर्शनी गरिएको हो ।
दिवसअन्तर्गत इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारीबीच शिष्टाचार व्यापारिक बैठक गराइने कार्यक्रम छ । यस वर्ष ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ ।
विसं १९२० मा इलाममा कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा रोपेपछि नेपालमा चियाखेतीको सुरुआत भएको मानिन्छ । त्यस अगाडि चिया रोपण भएको कुनै जानकारी छैन । कर्णेल थापा त्यस क्षेत्रमा बडाहाकिमका रुपमा कार्यरत रहँदा चियाखेती सुरु भएको इतिहास छ । त्यसको केही वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेती क्रमशः विस्तार हुँदै गएको हो ।
सरकारले विसं २०३९ मा झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्रका रुपमा घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरेको पाइन्छ । हाल नेपालका पूर्वी जिल्लाबाहेक ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङलगायतका जिल्लामा समेत चिया खेती गर्न थालिएको बोर्डका निर्देशक दिपक काफ्लेले जानकारी दिनुभयो ।
विसं २०५७ मा सरकारले राष्ट्रिय चिया नीति ल्याएको थियो । सरकारले चिया प्रवद्र्धनका लागि बनाएको चिया तथा कफी विकास बोर्डले समेत प्रभावकारी काम गर्न नसकेको व्यवसायीको भनाइ छ । चिया किसान विकास लामाले चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन नसकिरहेकाले सरकारले उचित नीति निर्माण गर्नुपर्ने बताए ।
नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त छ । यहाँको जैविक चियाको गुणस्तर राम्रो भएकाले विश्वबजारमा लोकप्रिय मानिन्छ । चिया क्षेत्रलाई व्यवस्थित गर्न सरकारले किसान प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने चिया किसान लामाको माग छ । चिया क्षेत्रमा अझै पनि निकै समस्या छन् तर समाधानमा सरकार, निजी क्षेत्र र किसानको समन्वय तथा सहकार्यको खाँचो रहेको बताइन्छ ।