सांसदको शपथ लिँदै लामिछानेले भने: सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।

शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सभापति लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीमा वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका हुन् ।

आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै उनले भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको बताए ।

सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने उनको भनाइ छ ।

‘हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ । त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीर आपत्ति छ’ उनले भने ।

उनले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

सभामुख देवराज घिमिरेले चितवन २ बाट सांसदमा निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ १ मा निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनियताको शपथ दिलाएका थिए ।


क्लिकमान्डु