संघ र प्रदेशमा गठबन्धन दलको पालैपालो सरकार: माधव नेपाल



जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताएका छन् ।

जनकपुरधाममा आज समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने स्थिति नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्नेसमेत बताए ।

चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टी समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवयश्क रहेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले अब ७० लागेका नेता आराम गर्नुको विकल्प नरहेको भन्दै उनले आफूलगायत त्यस्ता सम्पूर्ण नेतालाई पुस्तान्तरणका लागि आह्वान गरे ।

उनले समाजवादी मोर्चाका लागि पनि अब पहल सुरु हुने बताए । माओवादी र जसपासँग मात्र होइन विप्लव समूहसँग समेत कुराकानी भइरहेको बताउँदै उनले कम्युनिष्ट आन्दोलन बचाउन मोर्चा गरिने जानकारी बताए ।


क्लिकमान्डु