तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित



तनहुँ । तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरले निर्वाचित भएका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा ३४ हजार ९१९ मतसहित वाग्ले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

वाग्लेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरे ।

तनहुँ १ मा ६५ हजार ३१६ मत खसेकोमा १ हजार १८१ मत बदर भएको थियो ।

मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट विजयी बनेका कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको हो । वाग्ले कांग्रेस त्यागेर रास्वपाबाट निर्वाचनमा होमिएका थिए ।

राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष वाग्लेले बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स, अमेरिकाको हार्वड विश्वविद्यालय र अस्ट्रेलियाको अस्ट्रेलियन नेसनल विश्वविद्यालयबाट उच्चशिक्षा अध्ययन गरेका छन् ।


क्लिकमान्डु