तनहुँ १ मा स्वर्णिम १० हजारले अगाडि, चितवन २ मा रवि र बारा २ मा उपेन्द्रको अग्रता



काठमाडौं । वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारको अग्रता बनाएका छन् ।

करिब ५० हजार मत गन्दा वाग्लेले २२ हजार ८२ मत ल्याएका छन् भने नेपाली कंग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ४ सय ५८ मत पाएका छन् ।

त्यस्तै चितवन २ मा पनि रास्वपाकै रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन् । साढे ८ बजेसम्मको गणनाअनुसार लामिछानेले ६ हजार ५६८ मत ल्याएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले २ हजार ९०२ मतसहित पछ्याइरहेका छन् । कांग्रेसका जितनारायण श्रेष्ठले २ हजार ६८८ मत पाएका छन् ।

त्यसैगरी बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले अग्रता बनाएका छन् । यादवले २ हजार ७७० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार १८२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका एमाले नेता पुरुषोत्तम पौडेलले ९२९ मत प्राप्त गरेका छन् भने चौथो स्थानमा रहेका रास्वपाका रमेश खरेलले ३५२ मत पाएका छन् ।


क्लिकमान्डु