५० प्रतिशत मत आउँछ भन्ने पूर्वानुमान थियो: स्वर्णिम वाग्ले



काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ ।

मतगणना सुरु भएदेखिनै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अर्थशास्त्री डा स्वर्णिम वाग्लेले अग्रता बनाइरहेका छन् । पछिल्लो अपडेट अनुसार वाग्ले निकटतम प्रतिद्वन्द्वीभन्दा ५ हजार ७ सय १३ मतले अगाडि छन् ।

वाग्लेले १३ हजार ७४९, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ३६ र एमालेका सर्वेन्द्र खनालले ४ हजार ३९५ मत पाएका छन् ।

आफूले पाइरहेको मत अपेक्षा अनुसार नै भएको वाग्लेको भनाइ छ । ‘हामीले ५० प्रतिशत बढी मत पाउने आकलन गरेका थियौं,’ वाग्लेले क्लिकमान्डुसँग भने, ‘अहिले पाइरहेको मत अपेक्षाअनुसार नै हो ।’ तर, अन्तिम नतिजा नआइसकेकाले कति प्रतिशत मत आउँछ भनेर यसै भन्न नसकिने उनले बताए ।

वाग्लेले आफू निर्वाचित भएपछि जनतासँग गरेका वाचा तथा प्रतिवद्धता अनुसार काम गर्ने बताए ।

आइतबार सम्पन्न उपनिर्वाचनमा तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको थियो । दिउँसो सवा २ बजेसम्म २७ हजार ४४ मत गणना भएको छ ।


क्लिकमान्डु