छानबिन गर्ने हो भने सबै नेता पालैपालो जेल जान्छन्ः विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन् ।

आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा महासचिव विप्लवले देशमा भ्रष्टाचार व्याप्त रहेकाले नेताहरुको सम्पत्ति जाँच गर्नु पर्ने बताए ।

अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको उनको भनाइ छ ।

पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरु पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको उनको भनाइ ५ । महासचिव विप्लवले भ्रष्टाचारको छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताए ।

‘मैले आरोप लगाएको होइन नेपालका मान्छेहरु यदी छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो । उसले उसलाई लगाउछ, उसले उसलाई लगाउँछ । तर सबैलाई अर्ब भन्दा कमको चार्ज छैन नि’उनले भने, ‘ अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन् । त्यो साँचो कुरा हो । नेपालको समस्या भनेको भ्रष्टाचारकै समस्या हो । भ्रष्टाचारको समस्या भनेको राजनीतिक परिवर्तन भएन भन्ने हो । खोइ त परिवर्तन ? यथार्थ राजनीतिक परिवर्तन भनेको त आर्थिक परिवर्तन हो । मन्त्री हुने, सांसद हुने त्यहाँ मात्रै झुत्ति खेलिरहेको छ मान्छेले । त्यो परिवर्तन नै होइन ।’

सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरुलाई अर्ब रुपैयाँभन्दा कमको चार्ज नहुने उनको भनाइ छ । पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको विप्लवको भनाइ छ ।

महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टीकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए । उनले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गरे । उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।


क्लिकमान्डु