महालक्ष्मी विकास बैंकको डिभेन्चर डेढ गुणा ‘ओभर सब्सक्राइब’
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले जारी गरेको डिभेन्चर ‘ओभर सब्सक्राइब’ भएको छ । बैंकले १० वर्षे अवधिका लागि १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता डिभेन्चर निष्काशन गरेको थियो ।
चैत २९ गतेदेखि बैशाख ४ गते सम्म १० लाख कित्ता बिक्री खुला गरिएको १५ लाख कित्ता डिभेन्चर खरिद गर्ने प्रस्ताव पेश भएको छ । बैंकले माग गरेभन्दा बढी प्रस्ताव पेश भएको अवस्थालाई ‘ओभर सब्सक्राइब’ भनिन्छ ।
बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर दिनेगरी ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गरेको थियो ।
बैंकले निष्कासन गरेको एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता डिभेन्चर मध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने डिभेन्चरमध्ये २० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बैंकले माग गरेभन्दा बढी कित्ता डिभेन्चर खरिद गर्ने प्रस्ताव पेश गरिएको छ ।
बैंकले डिभेन्चर निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । त्यसको अर्थ मध्यम कर्जा जोखिम हुन्छ । डिभेन्चरमा लगानी गर्नलाई हरेक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा ब्याज भुक्तानी गर्ने बैंकले जनाएको छ ।
बैंकले माग गरे भन्दा बढी डिभेन्चर खरिद गर्न चासो देखिएकाले धितोपत्र बोर्डले निर्धारण गरेको व्यवस्था अनुसार डिभेन्चर बाँडफाडँ गरिने बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।