नियम विपरित विलासी गाडी चढ्दै राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालक



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले नियमविपरित महंगा, विलासी गाडि चढ्ने गरेका छन् ।

बैंकको सवारीसाधन सुविधा व्यवस्थापन कार्यविधि, २०७८ को उल्लघन गर्दै उच्च पदाधिकारीले सवारी साधान प्रयोग गर्ने गरेको महालेखापरीक्षको कार्यालयको ६०औं प्रतिवेदनमा उल्लेख छ ।

महालेखाका अनुसार गभर्नरलाई १ करोड ४० लाख, डेपुटी गभर्नरलाई १ करोड १० लाख र कार्यकारी निर्देशकलाई ५५ लाखसम्मको सवारी सुविधा दिन सकिने व्यवस्था रहेको छ ।

तर, उक्त निर्देशिकाभन्दा फरक गरी गभर्नरले १ करोड ७८ लाख, डेपुटी गभर्नरले १ करोड ४३ लाख र कार्यकारी निर्देशकले ७१ लाख ५० हजार मूल्यको सवारीसाधन खरिद गरी प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १९ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको सुविधा बोर्डले निर्धारण गरे अनुसार हुने उल्लेख भए तापनि अन्य सुविधाबारे ऐनमा उल्लेख नभएको पाइएको छ ।

सोही ऐनको दफा ३२ (२) मा बोर्ड मै रहने गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले आफ्नै सुविधाका लागि निर्णय गर्दा स्वार्थ बाझिने कारण सम्वन्धित पदाधिकारी उपस्थित नहुने उल्लेख छ ।

यस्तै विद्युतीय सवारीसाधनमा २५ प्रतिशत र अन्य सवारी साधनमा २० प्रतिशत ह्रास कट्टा गरी हुन आउने रकम वा खरिद मूल्यको २० प्रतिशतमध्ये जुन बढि हुन्छ । सो रकम भुक्तानी गरी सुविधा प्राप्त गर्ने पदाधिकारीले सेवा निवृत्त हुँदा लिन पाउने व्यवस्था रहेको छ । ऐनमा सञ्चालकको अन्य सुविधा बोर्डले निर्णय गरेबमोजिम हुने व्यवस्थाले सेवामा रहँदा पाउने सुविधाको हद र निवृत्त भएपछि पाउने सुविधा सम्बन्धमा कानूनद्वारा नै स्पष्ट गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

बैंकमा वरिष्ठ कर्मचारीहरूको लागि पर्याप्त संख्यामा सवारी साधनहरूको उपलब्धताका बावजुद नेपाल राष्ट्र बैंकले यो वर्ष १ करोड २१ लाख देखि २ करोड ७८ लाख सम्मका ५ समेत २६ सवारीसाधन खरिद गरी २४ करोड ३८ लाख २५ हजार खर्च गरेको छ ।

खरिद भएका सवारी साधन विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने उल्लेख भएकोमा विशिष्ट व्यक्तिको नाममा छुट्टै सवारी साधन खरिद गर्नु औचित्य नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु