प्रधानन्यायाधीश नियुक्ति गर्न प्रमुख तीन दलबीच सहमति



काठमाडौं । प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको जानकारी दिए ।

उनले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने कुरामा सहमति जनाएको उनले बताए ।

संसदको समितिहरु सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउने विषयमा पनि नेताहरुबीच छलफल भएको थियो ।


क्लिकमान्डु