निर्माण सम्पन्न भएको ३८ अपार्टमेन्टले अझै लिएनन् प्रमाणपत्र


काठमाडौं । देशभर निर्माण सम्पन्न भएको ३८ वटा अपार्टमेन्टले हालसम्म आवास प्रमाणपत्र नलिएको पाइएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको ६०औं प्रतिवेदनअनुसार ७० अपार्टमेन्टको ७ हजार २२ आवास इकाइ निर्माणका लागि स्वीकृति प्रदान गरेकोमा ३२ अपार्टमेन्टको निर्माण सम्पन्न भई ३ हजार ९४१ आवास इकायएको निर्माण सम्पन्न भएको विभागले पेस गरेको थियो ।

तर २०६२ देखि २०६९ सालसम्मको अवधिमा निर्माण स्वीकृतिको लागि अनुमति लिएकोमा हालसम्म ३८ अपार्टमेन्टका ३ हजार ८१ आवास एकाइले निर्माण सम्पन्न प्रमाणपत्र नलिएको महालेखापरीक्षक कार्यालयले जनाएको छ ।

संयुक्त र बहुतले आवास– संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन, २०५४, नियमावली, २०६० र संयुक्त आवास भवन निर्माण स्वीकृति तथा अनुगमन कार्यविधि, २०७० अनुसार संयुक्त आवासको व्यावसायिक कारोबार गर्ने संयुक्त आवास कम्पनी तथा जग्गा विकास गरी सामूहिक भवन निर्माण अनुमतिका लागि पेस भएका प्रस्ताव जाँच गरी निर्माण स्वीकृति, अनुगमन र निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गर्ने जिम्मेवारी विभागको रहेको छ ।

आवास एकाइधनीले निर्माण सम्पन्न प्रमाणपत्र नलिएका कारणले खरिद बिक्री गर्न नपाएको, कतिपय निर्माण सम्पन्न प्रमाणपत्र जारी हुनु अगावै लालपुर्जा जारी भई खरिद बिक्री कार्य गरेको, कतिपय निर्माण कार्य सम्झौताबमोजिम नगरेको, दिनुपर्ने सुविधा उपलब्ध नगराएको, प्लानिङ पर्मिटअनुसार कार्य नगरेको, कतिपय निर्माणाधीन अपार्टमेन्टको नाम परिवर्तन गरी होटेल र बैङ्क सञ्चालन गरेको लगायतका उजुरी तथा गुनासो रहेका छन् ।

त्यसैले, प्रमाणपत्र नलिएकाले गर्दा विभिन्न समस्या सम्बोधन गर्न कठिन भएको भन्दै विद्यमान कानूनको कार्यान्वयनमार्फत् सुरक्षित र सुव्यवस्थित आवासको प्रत्याभूति गर्न निर्देशन दिएको छ ।

Skip This