रवि लामिछानेलाई चित्रबहादुर केसीले भने: खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उनले त्यो काम स्वीकार्य हुनै नसक्ने बताए ।

आइतबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष केसीले ७ दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्ष्यम्य रहेको बताए । उनले लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाडन नहुने बताए ।

‘राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र निकाय बनाउने पहल भइरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक छ । एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्यांकमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्वीकार्य छ’ उनले भने, ‘पुराना पार्टीहरुले नै गल्ती गरेका थिए । उनीहरुले आफ्ना स्वार्थका लागि नियम, कानुनहरु बनाउँथे । नयाँ आएका पार्टीहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्ख परेर हेरिरहेका थिए । खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो । त्यसकारणले यस्ता प्रवृत्तिलाई चाँही त्यसै छोडन हुन्न ।’


क्लिकमान्डु