लघुवित्तले लिने लाख बढीकाे निक्षेपमा राष्ट्र बैंकको कडाई, कर्जा असुलीको सूचना निकाल्दा फाेटाे राख्न नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने निक्षेपमा कडाई गरेको छ ।

केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दैै निक्षेप लिन कडाइ गरेको हो । नयाँ व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाले, ‘१ लाख वा सोभन्दा बढीको बचत-निक्षेप स्वीकार गर्दा लघुवित्त संस्थाले ग्राहकलाई रकमको स्रोत उल्लेख गर्न लगाउनु पर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।

यस्तै निर्देशिकामा इजाजतपत्रप्राप्त संस्थाले आफूले स्वीकृत गरेको सम्पूर्ण कर्जा÷सुविधा कर्जा प्रवाह गरेको विवरण ७ दिनभित्रमा कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने उल्लेख छ । यसअघि १५ दिनभित्रमा पठाउनुपर्ने व्यवस्था थियो । अहिले समय घटेको छ ।

निर्देशिकामा ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जा÷सुविधा भुक्तान भएको १५ दिनभित्र कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने उल्लेख छ ।

त्यस्तै ग्राहक पहिचानका लागि कारोबारको स्रोत पहिचान वा सम्पुष्टि गर्न, कारोबारको उद्देश्यको जानकारी वा सोको प्रमाण लिन तथा कारोबारको अनुगमन गर्ने प्रयोजनका लागि सीमा निर्धारण गर्न वा अन्य कुनै उपाय अवलम्बन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कर्जा जोखिम मूल्यांकन गर्दा लघुवित्त संस्थाले ग्राहक, सेवा, भौगोलिक क्षेत्र तथा सेवा प्रवाह गर्ने माध्यमलगायत एएमएल-सीएफटीसम्बन्धी जोखिम पहिचान एव विश्लेषण गरी त्यसको मूल्यांकन गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु