बजेटको पूर्वतयारीबारे विराटनगर महानगरद्वारा सुझाव संकलन



विराटनगर । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसँग पूर्वबजेटबारे सुझाव संकलन एवं छलफल सुरु गरेको छ ।

महानगरले सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्षका लागि पूर्वबजेट छलफल आयोजना गरेको हो । पूर्वबजेट छलफलमा प्राप्त सुझावअनुसार आगामी वर्षको बजेट निर्माण गर्न सुझाव संकलन एवं छलफल गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

सो छलफलमा कार्यक्रममा महानगरका राजस्व महाशाखाका प्रमुख सरोज गौतम, लेखा प्रशासन महाशाखा प्रमुख संजीव भट्टराई, आर्थिक विकास महाशाखाका प्रमुख दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियासमेत विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा सहभागीहरुले बजेट निर्माण गर्दा आयमूलक, सीपमूलक तथा रोजगारीमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिएका थिए ।

सो अवसरमा नारी विकास संघकी अध्यक्ष सीता शर्मा, हाम्रो समाजका अध्यक्ष अनुप सापकोटा, सगरमाथा सामुदायिक विकास केन्द्रका दीपक राउत, सेतो गुराँसकी अध्यक्ष सरु केसी, रिचमन्ट फेलोसिपका संजीव चापागाईं, माइती नेपाल, कोशी प्रदेश संयोजक विनोद पोखरेल, गैरसरकारी संस्था मोरङकी अध्यक्ष विष्णु शर्मा र सिविनका प्रदेश संयोजक वासु अधिकारीले सुझाव दिएका थिए ।

उनीहरुले बेरोजगारी समस्या बढ्दै गएको बताउँदै सीप सिकेर स्वरोजगार हुने गरी बजेटलाई प्राथमिकतामा राख्न सुझाव दिए । त्यस्तै घरेलु हिंसामा परेकाहरुलाई राख्न अल्पकालीन आवासगृह व्यवस्थापन, सामाजिक संघसंस्थाको क्षमता विकास र लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्न शैक्षिक संस्थादेखि नै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुले सुझाव दिएका थिए ।


क्लिकमान्डु