चीनलाई एक लाख बाँदर बेच्ने श्रीलंकाको तयारी



एजेन्सी । आर्थिक रूपमा संकटग्रस्त श्रीलंकाले चीनलाई एक लाख लोपोन्मुख बाँदर बेच्ने तयारी गरेको छ । श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरविराले चीनमा बाँदर निर्यात गर्नेबारे तयारी भइरहेको बताएका हुन् ।

लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलंकामा प्रशस्त पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले संकटापन्न वन्यजन्तुमा वर्गीकृत गरेको छ ।

श्रीलंकाले लगभग सबै जीवित जनावरको निर्यातमा प्रतिबन्ध लगाएको छ । देश स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको यो एसियाली मुलुकले प्रस्तावित बिक्रीबाट कमजोर अर्थतन्त्रमा योगदान हुने बताएको छ ।
विक्रीको प्रस्ताव सार्वजनिक गरिए पनि बाँदरलाई कति मूल्य लिएर दिने भन्ने आर्थिक विवरण भने उपलब्ध गराइएको छैन । कृषिमन्त्री अमरविराले चीनका एक हजारभन्दा बढी चिडियाखानाले बाँदर चाहेको बताएका छन् ।

बाँदरले कृषिबालीलाई क्षति पुर्याउने र संख्या पनि अत्यधिक भएका कारण श्रीलंकामा कृषकको शत्रुका रूपमा बाँदरलाई लिने गरिन्छ । तिनीहरूले अन्नको खोजीमा बालीनाली नष्ट गर्छन्, गाउँहरूमा आक्रमण गर्छन् र कहिलेकाहीं मानिसलाई समेत आक्रमण गर्छन् ।

श्रीलंकाले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जंगली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ ।

श्रीलंकाको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ले प्रस्तावित बिक्रीको आलोचना गर्दै ४० वर्षभन्दा बढी समयदेखि बाँदर (मकाक) को राष्ट्रव्यापी सर्वेक्षण नभएको र पहिले उचित जनसंख्या अध्ययन गर्नुपर्ने बताएको छ ।

श्रीलंका सरकारको तथ्यांकअनुसार ‘टोक मकाक’बाँदरको संख्या २० लाखदेखि ३० लाखको बीचमा छ । बाँदर र हात्तीलगायत मानव-जनावरबीचको द्वन्द्व बढ्नुको एउटा कारण कृषि विस्तार हो ।

(रासस)


क्लिकमान्डु