एमाले संसद विघटनको दाउमा छ, ओलीसँग एकता हुँदैन: माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए ।

उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए ।

उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने एकताको सम्भावना नरहेको बताए ।

‘एमालेभित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधीको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं । त्यो बाटोमा त हामी जान सक्दैनौं । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं’ उनले भने ।

नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए ।


क्लिकमान्डु