मर्जर नीतिले १८४ बैंक वित्तीय संस्थाको अस्तित्व समाप्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको मर्जर नीतिका कारण १८४ बैंक तथा वित्तीय संस्थाको अस्तित्व समाप्त भएको छ ।

वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्था गाभ्ने-गाभिने तथा प्राप्तिसम्बन्धी नीति ल्याएपछि २०७९ फागुनसम्ममा २५७ वटा बैंक तथा वित्तीय संस्था मर्जर-प्राप्ति प्रक्रियामा सहभागी भएका हुन् ।

तीमध्ये १८४ संस्थाको इजाजत खारेज हुन गई ७३ संस्था कायम भएको राष्ट्र बैंकले जनाएको छ । हालसम्म ४७ वित्तीय संस्था मर्जर प्रक्रियामा सहभागी नै भएका छैनन् । मर्जर नीति तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले ल्याएका हुन् ।

देशभरका ७५३ स्थानीय तहमध्ये १ स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा स्थापना हुन सकेको छैन । बझाङको साइपाल गाउँपालिकामा कुनै पनि वाणिज्य बैंकले शाखा खोल्न नसकेका हुन् ।

२०७९ फागुनसम्ममा ७५२ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । २०७८ फागुनसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७९ फागुन मसान्तमा १२० मा झरेको छ । मर्जरका कारण वाणिज्य बैंक २१ वटामा, विकास बैंक र वित्त कम्पनी १७-१७ वटामा र लघुवित्त वित्तीय संस्था ६४ वटामा सीमित भएका हुन् ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त एउटा पूर्वाधार विकास बैंक पनि सञ्चालनमा छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार ५२८ रहेकोमा २०७९ फागुन मसान्तमा ११ हजार ६२९ पुगेको छ ।


क्लिकमान्डु