सरकारको नेतृत्व फेरि कांग्रेसको हातमा आउँछ: देउवा



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन बताएका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा देउवाले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको बताए ।

पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

सभापति देउवाले संविधान अनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढनु परेको बताए ।

‘आज हाम्रो पार्टी सरकारमा छ । भोली सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तापनि भोली हामी सबै लागेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर हामी सबै लाग्नुपर्छ’ उनले भने, ‘सबैको योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ । त्यसकारणले अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ ।’

त्यस अवसरमा सभापति देउवाले शिक्षकहरुको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए ।


क्लिकमान्डु