ब्याज खान पल्केका सरकारी संस्थाका कारण ब्याजदर बढ्यो: वरिष्ठ उपाध्यक्ष शाह



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले बढी ब्याज खान पल्किएका सरकारी संस्थाका कारण ब्याजदर बढेको बताएका छन् ।

सिबिफिनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस विषयमा प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई पनि जानकारी गराएको बताएका छन् ।

सरकारी निकायले ब्याज खाएर मात्रै बस्न नहुने भए पनि उनीहरुले ब्याज खान खोज्दा सबै क्षेत्र प्रभावित भएको शाहको भनाइ छ । ब्याजदर २ प्रतिशत घटाएर ९.९ मा ल्याउन सरकारलाई आग्रह गरेको उनले जानकारी दिए ।

वैशाख ३ देखि बैंक बन्द गराउने, आन्दोलन गर्ने भनेर केही समूह हिँडेको भन्दै उनले त्यसको विरोध गरे । ‘यस्ता विषयलाई सिबिफिनले गम्भीरतासाथ लिएको छ,’ उनले भने ।

निक्षेप र कर्जाको ब्याजदर बैंकले स्वतन्त्र रुपमा निर्धारण गर्न नपाएको उनले बताए । ‘राष्ट्र बैंकले जारी गर्ने निर्देशन र निर्देशिकाअनुसार ब्याजदर तय भइरहेको छ,’ उनले भने ।

कर्जा लिनेले समयमा ब्याज नतिर्दा खराब कर्जा बढेको र त्यसले गर्दा बैंकको नाफा नकारात्मक बन्ने स्थिति आएको उनको भनाइ छ । आन्दोलन गरेर ब्याज तिर्नु पर्दैन भनेर नसोच्न उनले सबैलाई आग्रह गरे ।


क्लिकमान्डु