फागुनमा पनि २० करोड डलरले बढ्यो विदेशी मुद्राको सञ्चिति



काठमाडौं । नेपाल राष्ट्र बैंकमा रहेको विदेशी मुद्राको सञ्चिति फागुनमा पनि २० करोड डलरले बढेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति १० अर्ब ७० करोड डलर पुगेको हो ।

विदेशी मुद्राको सञ्चिति माघसम्म १० अर्ब ५० करोड डलर थियो । माघमा पनि सञ्चिति २० करोड डलरले नै बढेको थियो । पुसमा विदेशी मुद्राको सञ्चिति १० अर्ब ३० करोड डलर थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ फागुन मसान्तमा १७.८ प्रतिशतले बढेर १२ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा २ प्रतिशतले कमी आई १ सय ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । २०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले बढेर २०७९ फागुन मसान्तमा १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ ।


क्लिकमान्डु