मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस्ः मनिष झा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउन पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताएका छन् । पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भइरहेका बेला सांसद झाले सो भनाइलाई आफूले विश्वास गर्न नसक्ने बएका हुन् ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेको देखाउन चेतावनी दिए । नेपाली कांग्रेसमा आबद्धहरुले ट्विटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउन ८ करोड लिएको भनेर लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेर देखाउन चुनौती दिए ।

उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउन साढे २ करोड मागेको भन्ने कुरा पनि सत्य नभएको जिकिर गरे । मन्त्री बनाउन पार्टी नेतृत्वलाई २ करोड दिनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागिएको अडियो आइतबार (हिजो) सार्वजनिक भएपछि सांसद श्रेष्ठमाथि रास्वपाले छानबिन गरिरहेको छ ।

सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको बरु आरोप लगाउने कांग्रेसभित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरुसँग रहेको दाबी गरे ।

‘स्टेटस लेखेर चुनावका बेलामा स्टन्ट गर्ने हो भने दाइ-भाउजूले के-के लिए भन्ने कुरा त हामीलाई पनि थाहा छ नि !’ उनले भने, ‘हामीले प्रमाण पेस गरेपछि कारबाही गर्छ त्यो दलले ? म चुनौती दिन चाहन्छु । कति पटक हामीले सुनेका छौं नि ! कहिल्यै यस्तो अभिव्यक्ति र निलम्बन गरेको छ त्यो दलले । त्यो पार्टीहरुले । सुनेर पनि ढाकछोप गर्न खोजेको होइन र !’

सांसद झाले विवादमा परेपछि निलम्वनमा परेका सांसद श्रेष्ठसँग पार्टीले सम्बन्ध विच्छेद गरेको पनि स्पष्ट पारे । छानबिन प्रभावित नहोस् भनेर सम्बन्ध विच्छेद गर्नुपरेको उनले बताए ।

सांसद झाले निलम्बित सांसद श्रेष्ठलाई जोगाएर आफूहरुले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि पटक-पटक दोहोर्‍याए । व्यवसायी प्रसाईंसँगको अडियो प्रकरण सार्वजनिक भएलगत्तै आइतबार (हिजो) सांसद श्रेष्ठलाई निलम्बन गरी ७२ घण्टाभित्र छानबिन गरी आरोप पुष्टि भए कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।


क्लिकमान्डु