पैसा मागिएको अडियोबारे छानबिन गर्न संसदीय समिति बनाउन माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधि सभा चुप लागेर बस्नु नहुने बताए ।

उनले सांसद श्रेष्ठका बारेमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे । त्यस्तै श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टीम’ लाई बुझाउनका लागि पैसा चाहिएको भनेको भन्दै सो ‘कोर टीम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताए ।

‘म निवेदन गर्न चाहन्छु, त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन ? त्यसकारणले गर्दाखेरी यसको छानबिनका लागि आज यो संसदभित्रको एउटा प्रतिनिधि सभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा, भ्रष्टाचारको सन्दर्भमा, कमिशनको सन्दर्भमा यो संसद चुप लागेर बस्नु हुँदैन । त्यसकारणले आजैको दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु’ उनले भने ।

त्यस्तै सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने भन्दै करोडौँ रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति पनि सरकारले छानबिन गर्नुपर्ने बताए ।

‘यसमा ठूलै नेताहरुको पनि नाम जोडिएर सञ्चार माध्यममा आइपुगेको छ । अनि ठूलालाई चैन सानालाई ऐन हुन्छ कि ? होइन भने यस घटनामा जति ठूलै नेताको नाम जोडिएपनि गृहप्रशासन काँप्नु हुँदैन । गृह प्रशासनले दह्रोसँग खुट्टा टेकेर यसमा संलग्न जतिसुकै ठूलो नेता भएपनि कारबाहीको दायरामा ल्याउनैपर्छ । कानूनको कठघरामा उभ्याउनै पर्छ’ उनले भने ।


क्लिकमान्डु