सहकारीहरुमा देखिएको समस्या समाधान गर्न सरकार तत्पर: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै यसलाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी महासम्मेलन २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्रीले अहिले सहकारीमा बचतकर्ताको धेरै प्रश्न रहेको र त्यो प्रश्नको जवाफ यही सम्मेलनबाट खोज्नु पर्ने बताए ।

उनले सहकारीबाट अपेक्षा धेरै रहेको भए पनि त्यो पूरा नभएको भन्दै सहकारीलाई उत्पादन र श्रम सहकारीमा रुपान्तरण गर्नुपर्ने बताए ।

वित्तीय क्षेत्रमा देखिएको तरलताको समस्या सहकारीमा पनि रहेको भन्दै उनले यतिबेला बचतकर्ताको बचत सुरक्षरण गर्ने बेला भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।

सहकारीहरुमामा देखिएको समस्या समाधान गर्न सरकार तत्पर रहेको प्रधानमन्त्रीले बताए । सहकारीप्रतिको विश्वास टुट्न दिन नहुने उनको भनाइ थियो ।

सहकारीलाई उत्पादनमा जोड्न कानुन संशोधन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले त्यसलाई संशोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने प्रमुख आधार सहकारी भएको बताउँदै प्रधानमन्त्रीले व्यापारीक एकाधिकार तोडन जरुरी भएको बताए । सहकारी नेपालको अर्थतन्त्रको बलियो खम्बा भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्था अर्थतन्त्र सुधारका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताए ।

सहकारीले न्यून आय भएका व्यक्तिको आयमा सुधार गर्न सहयोग गरेको भन्दै समाज विकासमा पनि सहकारीको ठूलो भूमिका हुने उनको भनाइ थियो ।

सहकारीले अल्पशंख्यक समुदायमा पनि काम गरिरहेको बताउँदै उनले सहकारीले उध्यमशिलता विकासमा लाग्नु पर्नेमा जोड दिए ।

अहिले केही बचत तथा ऋण सहकारीमा समस्या देखिएको भन्दै उनले व्यबस्थापन बलियो नहुँदा समस्या देखिएको बताए । बचत तथा ऋण सहकारीका कारण समग्र सहकारी अभियान छाँयामा परेको अधिकारीको भनाइ थियो ।

सहकारीको नियमनका लागि राष्ट्र बैंक दोस्रो तहको नियमन निकाय गठन गरेर अघि बढ्ने उनले बताए ।


क्लिकमान्डु