गठबन्धन पाँच वर्षसम्म रहन्छ: माधव नेपाल



काठमाडौं । सत्तासाझेदार नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन् ।

वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशंका कसैकसैले गर्ने गरेको उल्लेख गर्दै उनले गठबन्धन पाँच वर्ष कायम रहने दाबी गरेका छन् ।

बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको बताए ।

‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ । यसको लामो आयु छैन । कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन् । त्यसलाई पत्याउने अवस्था पनि रहेको देखिन्छ । तर तपाईंहरु ढुक्क भए हुन्छ–यो जुन गठबन्धन छ । यो पाँच वर्षसम्म कायम रहन्छ । त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिवद्धता गरेका छौं’ उनले भने ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको पनि बताए ।

उनले एमालेसँग पनि एकता गरेर जान सकिने बताए । केपी ओलीप्रति संकेत गर्दै उनले मति सप्रियो भने एमालेसँग पनि एकता गरेर जान सकिने स्पष्ट पारे ।


क्लिकमान्डु