सहकारी संस्थामा कालोधन आउँदैन, शंकालागे प्रभावकारी नियमन गरौः अध्यक्ष कडेल



काठमाडौ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल सहकारी संस्थामा कालोधन नआउने र आएको भन्ने लाग्छ भने प्रभावकारी नियमन गर्न आग्रह गरेका छन् ।

महासंघले आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन–२०२३ का बारेमा जानकारी गराउन आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘सहकारी क्षेत्रमा गलत ढंगले आर्जन गरेको पैसा आउने गरेको भन्दै यदाकदा प्रश्न उठ्ने गरेको छ’ उनले भने ‘सहकारीमा त्यस्तो पैसा आउँँदैन । आउँछ भन्ने लाग्छ भने अनुगमन प्रभावकारी गरौ । सहकारीलाई विश्वासका साथ चल्ने वातावरण सबैले गरौ ।’ यसका लागि महासंघले पनि सहयोग गर्ने बताए ।

चैत्र २३ देखि २५ गतेसम्म काठमाडौंमा हुने महासम्मेलनमामा उनले सहकारीमा अहिले देखिएका समस्या समाधानका लागि प्यानल बनाएर छलफल गर्ने बताए ।

अहिले सहकारी क्षेत्रमा तरलता अभाव रहेको भन्दै सहकारीका बचतकर्ताले एकैपटक पैसा निकाल्दा समस्या भएको बताए । अबका दिनमा बचतकर्ताको सुरक्षण हुनुपर्ने, ब्याजदर खुला हुनुपर्ने, भयरहित वातावरण्मा सहकारी सञ्चालन गर्ने विषयमा महासम्मेलनमा छलफल हुने बताए ।

सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको, कर्जा सुरक्षण कोष कार्यान्वयन नआएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले सहकारीलाई ब्याजदरको कसिमा राख्नुभन्दा खुला छोडनु पर्ने दाबी गरे ।

महासम्मेलनमा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सातै प्रदेशका सहकारीकर्मी, निजी क्षेत्रका प्रतिनिधि, गैर सरकारी संघरसंस्थाका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, बैंकर्स र अन्तर्राष्ट्रिय सहकारी अभियन्ताहरुको सहभागिता रहने बताइएको छ ।

महासम्मेलनमा कृषि तथा बन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, बैंकर अनिल केशरी शाह, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द राज पोखरेल र राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा थाम्सुहाङले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मी, नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व अर्थ सचिव सुरेन्द्र पाण्डे र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्यालले कार्यपत्र प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।

महासम्मेलनमा अन्तर्राष्ट्रि सहकारी अभियानको तर्फबाट विजनेस काउन्सिल अफ कोअपरेटिभ एण्ड म्युचलका प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन, आईसीए एपीका क्षेत्रीय निर्देशक बालु एयर, र जेए जेन्चु जापानका सिनियर म्यानेजर टोक्यो इचियाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

महासम्मेलनमा १ हजार भन्दा बढी सहभागी हुने महासंघले जनाएको छ । महासंघले प्रत्येक ५-५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन गर्दै आएको छ ।


क्लिकमान्डु