मिटरब्याज पीडितका समस्या समाधानका लागि जाँचबुझ आयोग गठन



काठमाडौं । सरकारले मिटरब्याजी समस्या अध्ययनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निणर्य सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरिएको जानकारी दिइन् ।

जाँचबुझ आयोगका सदस्यहरुमा पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्वप्रहरी नायब महानिरीक्षक उत्तमबाबु सुवेदी छन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ स्वीकृत गरेको छ । शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड २०७८ खारेज गर्ने पनि सरकारको निणर्य छ ।

त्यसैगरी नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निणर्य पनि भएको छ ।

मन्त्री शर्माले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची-२ मा हेरफेर गर्न स्वीकृति दिने निणर्य गरेको पनि जानकारी दिइन् ।

उनका अनुसार पूर्व-पश्चिम लोकमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निणर्य पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

मन्त्रिपरिषदको चैत १४ गते बसेको बैठकले नेपालको पूर्वीपहाडी क्षेत्रमा रहेका वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनका लागि विश्व वातावरण सुविधा (जीईएफ)बाट करिब ५५ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निणर्य गरेको पनि उनले जानकारी दिइन् ।

त्यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने, ग्रामीण सडकको स्तरोन्नतिका लागि एसियाली विकास बैंकसँग सम्झौता वार्ता गर्नका लागि वार्ता टोली गठन गर्ने र नेपाल-चाइना बोर्डर इपिडेमिक प्रिभेन्सन एन्ड कन्ट्रोल मेकानिजमको दुई पक्षीय बैठकमा सहभागी हुन स्वीकृति दिने निणर्य भएको छ ।

त्यसैगरी बंगलादेशमा आयोजना हुने नेपाल-बंगलादेश संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यसमूहको पाँचौँ बैठकमा सहभागी हुन ऊर्जासचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निणर्य भएको छ ।

मन्त्री शर्माका अनुसार जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम जिल्ला विपद् व्यवस्थापन समितिबाटै स्थानीय तहको समन्वयमा स्पष्ट खाका र मापदण्ड बनाई पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई निर्देशन दिने निणर्यसमेत भएको छ ।

मन्त्री शर्माले चैत १० गते बसेको मन्त्रिपरिषद बैठकले देवघाट क्षेत्र विकास समितिको अध्यक्ष पदमा देवघाट गाउँपालिका-३ तनहुँका भीमबहादुर रानालाई तोक्ने निणर्य गरेको जानकारी गराइन् ।

त्यस्तै चौरजहारी नगरपालिका रुकुम पश्चिमलाई कर्णाली प्रदेश स्तरीय फुटबल रंगशाला स्थापना गर्ने र सभाहल निर्माण गर्ने प्रयोजनको लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निणर्य पनि गरिएको छ ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. शैलेन्द्रराज उप्रेतीले पेस गरेको राजीनामा स्वीकृत गर्ने, भरतपुर अस्पताल तथा भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालको रुपमा सञ्चालन गर्ने गरी शैक्षिक कार्यक्रम विस्तार गर्ने र नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिस्ट्रार पदमा लीलानाथ भण्डारीलाई नियुक्त गर्ने निणर्य भएको पनि मन्त्री शर्माले बताइन् ।


क्लिकमान्डु