दाना बेच्ने ग्लोबल एग्रोले ६ महिनामा गर्‍यो डेढ अर्बको व्यापार



काठमाडौं । नेपालमा विभिन्न प्रकारका दाना बेच्ने ग्लोबल एग्रो प्रोडक्ट प्रालिले ६ महिनामा डेढ अर्बको व्यापार गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४९ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ४४ करोड रुपैयाँ, आव २०२१ मा २ अर्ब ५६ करोड १० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ७ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१२ देखि व्यापार गर्दै आएको कम्पनीले पोल्ट्री क्षेत्र तथा पशुपन्छीका लागि ग्लोबल, अमृत र उन्नत ब्रान्डमा दाना बिक्री गर्दै आएको छ । कम्पनीका दुई वटा दाना उद्योग छन् । कम्पनीका अनुसार एउटा उद्योग पेलेट फिड लाइनको छ भने अर्को मास फिड लाइनको छ ।

पेलेट दाना उद्योगले प्रतिघण्टा २० टन र मास दाना उद्योगले प्रतिघण्टा २५ टन दाना उत्पादन गर्दै आएको छ । चितवनको भरतपुरमा रहेको उद्योगमा ३८ जनाको स्वामित्व छ । जसमध्ये ८ जना लगानीकर्ताको हिस्सा ५२ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६६ करोड २० लाख रुपैयाँ रेटिङ गराएको हो ।

कम्पनीका अनुसार सन् २०२२ मा दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य उच्च बढ्दा व्यापारमा असर परेको छ । सन् २०२२ मा मकैको मूल्य ३५ प्रतिशत र भटमासको मूल्य ४३ प्रतिशतले बढ्दा व्यापारमा असर परेको कम्पनीको भनाइ छ ।

कम्पनीले ६० प्रतिशत भारतबाट आयात गरी बाँकी ४० प्रतिशत कच्चा पदार्थ आन्तरिक बजारबाट खपत गर्दै आएको छ ।


क्लिकमान्डु