युरोपमा वार्षिक ५० हजार कामदार माग, श्रम सम्झौतामा जोड दिँदै सरकार



काठमाडौं । देशमा उपयुक्त रोजगारी सिर्जना हुन नसक्दा नेपालीहरु रोजगारीको खोजीमा विश्वका १७० भन्दा बढी देशमा पुग्ने गरेका छन् । त्यसमा पनि युरोपका देशमा रोजगारीका लागि जाने प्रवृत्ति बढ्दो छ ।

नेपालबाट वार्षिक ६ लाख हाराहारीमा नेपाली काम या अध्ययनका लागि बिदेसिने गरेका छन् । तीमध्ये ९० प्रतिशत नेपालीको मुख्य गन्तव्य मलेसिया र खाडी मुलुक हुन् ।

सरकारले मलेसियालगायत खाडी मुलुकसँग द्विपक्षीय सम्झौता गरेकाले वार्षिक लाखौं कामदारको माग आउँछ । अन्य देशमा बिदेसिनको संख्या निकै कम छ ।

तर, केही वर्षयता कामका लागि युरोपका मुलुक जाने चलन बढेको छ । अवैध तरिकाले या व्यक्तिगत श्रम स्वीकृति लिएर पनि युरोप जाने नेपाली युवाको संख्या बढ्दो रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

युरोपका विभिन्न देशमा नेपाली कामदारको माग पनि उच्च रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल बताउँछन् । तर, कामदार पठाउन उपयुक्त संयन्त्र नहुँदा समस्या भइरहेको छ ।

‘युरोपमा अहिले वार्षिक करिब ५० हजार हाराहारी युवाको माग छ,’ उनले भने, ‘पारिश्रमिक र सुरक्षाका हिसाबले आकर्षण गन्तव्य युरोपका देशमा सहकार्य गरेर अगाडि बढ्ने तयारी भइरहेको छ ।’

नेपालले हालसम्म कतार, यूएई, कोरिया, बहराइन, जापान, इजरायल, जोर्डन, मलेसिया, मोरिसस र बेलायतसँग श्रमिक लैजान समझदारीपत्रमा हस्ताक्षर गरेको छ । त्यसबाहेक अन्य देशमा समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन । जसले गर्दा अन्य देशमा श्रमिकको माग भए पनि सहज ढंगबाट जाने काम भइरहेको छैन ।

नेपालले साउदी अरबसँग पनि श्रम सम्झौता गर्ने कार्य अघि बढाएको छ । साउदीसँग सम्झौता भए श्रमिकका हकहित र सुरक्षाको सुनिश्चितता हुने सरकारको अपेक्षा छ ।

सचिव अर्यालले सरकारले प्राथमिकतामा राखेर युरोपका देशसँग श्रम सम्झौता गर्ने बताए । ‘सरकारले युरोपका सम्भावित देशमा नेपाली युवा पठाउन छलफल तथा गृहकार्य गरिरहेको छ,’ उनले भने ।

गत आर्थिक वर्षमा नेपालबाट युरोपेली मुलुक पोल्यान्डमा १ हजार ८५५ नेपाली रोजगारीका लागि पुगेका छन् । मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष माल्टामा १ हजार ९१५, रोमानियामा ७ हजार ४७५, बेलायतमा २ हजार ८१४ र क्रोएसियामा ५ हजार ३४४ नेपाली पुगेका छन् । उनीहरु नयाँ तथा पुनः श्रम स्वीकृति लिई युरोप पुगेका हुन् ।

त्यसैगरी, गत वर्ष बेल्जियम ७५, क्यानडा १०३, केम्यान आइल्यान्ड २२८, डेनमार्क ४६, फ्रान्स १६४, जर्मनी ५८, इटली १०२, नेदरल्यान्ड्स ९३, न्युजिल्यान्ड ७६, नर्वे १०६, स्पेन ५५, टर्की ९९५, युक्रेन १५२ र अमेरिकामा ४९७ नेपाली रोजगारीको खोजीमा पुगेका छन् ।

फागुनमा मात्रै नेपालबाट रोजगारीको खोजीमा क्यानडा ५०, क्रोएसिया ५५७, फ्रान्स ३८, माल्टा २८२, मेक्सिको १२, न्युजिल्यान्ड ७७, पोल्यान्ड ६ सय, पोर्चुगल ७५, रोमानिया १ हजार ७०, रुस २३, बेलायत १७५ र अमेरिका २९ जना गएका छन् ।


क्लिकमान्डु